Logo
Logo

सिरहामा तीन तहको तस्करी


1.6k
Shares

काठमाडौं । तस्करीको हब मानिएको मधेश प्रदेशको सिरहामा भन्सारका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा गोदममा छापा हान्ने र त्यसलाई वैध बनाएर उन्मुक्ति दिने गरिन्छ । केही दिन अघि सिरहाको गोलबजारस्थित तस्करीका सामान भण्डारण गरिएको एक गोदाममा प्रहरी र भन्सारले छापा मारेर उन्मुक्ति दिएको पाइएको छ ।

छापाका क्रममा गोदाममा भारतबाट ल्याइएका पाउडर दूध र चिनीलगायतका लाखौ बराबरको सामान भेटिएका थिए । तर सबैको मिलेमतोमा त्यसलाई बैध बनाएर छाडिएको स्रोतको दावी छ । अहिले जिल्ला प्रहरी कार्यालय सिराहमा एसपी अनन्तराम शर्मा रहेका छन् ।

सिराहको गोलबजारमा केही दिन अघि प्रहरी र भन्सार कार्यालयका कर्मचारीले गोदाममा छापा हान्ने क्रममा गोलबजार व्यापारीहरुले अवरोध समेत गरेका थिए । भन्सार कार्यालय, माडरमा प्रमुख तोयानाथ सापकोटा रहेका छन् ।

गोदाम मालिकले सबै सामानहरुको करसहितको रसिद र प्रज्ञापनपत्र देखाएको भन्दै उनलाई उन्मुक्ति दिइएको थियो । प्रहरीले छापा हान्नुुअघिसम्म ती सामानको वैधता पुष्टि हुने कागजात देखाउन सकेका थिएनन् । सिराहमा अहिले सशस्त्र प्रहरीबाट एसपी नरेश भण्डारीले कमाण्ड गर्छन ।

प्रहरीलाई तस्करको गोदामबारे सूचना दिने स्रोतले आफूले सूचना दिएको झन्डै दुई घण्टापछि टोली गोदाममा आएको र त्यो अवधिमा तस्करले सामान अन्यत्र सार्ने काम गरेको उनको आरोप छ । गोदाम मालिकलाई फर्जी कागजात बनाउने अवसर दिएर उन्मुुक्ति दिएको बताइन्छ ।

सीमानाकामा तैनाथ प्रहरी , सीमा सुरक्षामा खटाइएको सशस्त्र प्रहरी बलकै सेटिङमा तस्करी बढिरहेको यहाँका स्थानीयहरु बताएका छन् । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका (माडर)मा गरि , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र भन्सारका कर्मचारीहरूकै सेटिङमा तस्करहरूले चौविसैघण्टा खुलेआम रुपमा तस्करी गरिरहेका छन् ।

सशस्त्र प्रहरीले औरही गाउँपालिका–४, भट्टीमोडबाट नियन्त्रणमा लिइएका सामानहरु भन्सार गएपछि हराउने गरेको र कतिपय अवस्था सशस्त्र प्रहरीले पनि भन्सार नै नपठाउने गरेको पनि स्थानीयहरुले बताउने गरेका छन् ।

तस्करीका लत्ताकपडा लिएर आएका तस्करलाई भने सशस्त्र प्रहरीले छाडेको बताइनछ । उक्त कपडा जिल्लाको गोलबजारका एक कपडा व्यापारीको हो । उनीहरूले दुईवटा पोकामा टाउकोमा बोकेरै उक्त कपडा ल्याइरहेका थिए । सोही क्रममा गस्ती टोलीले उनीहरूलाई कपडासहित पक्राउ गरेको र एकछिनपछि छाडेको स्रोतको भनाइ छ ।

सिरहामा घुमुवा प्रहरीसँगको सेटिङमा तस्करी बढेको छ । सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम फस्टाउँदो छ । माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरू प्रयोग गरी तस्करहरूले रातिको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्याँस चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ भन्सार राजश्व छली गरी नेपाल ल्याउने र नेपालबाट मदिरा, चाइनिज स्याउ, लगायतका सामाग्रीहरू भारतीय बजार व्यापक रुपमा पु¥याउने गरेको स्थानीयले बताए ।

ठाढी नाकामा मूल भन्सार छ । सँगसँगै सशस्त्र प्रहरीका बोर्डर आउटपोस्ट (बिओपी) र सईको कमान्डमा नेपाल प्रहरीका पोस्ट छन् । ठाढीबाट चार किलोमिटर उत्तरमा असईको कमान्डमा भगवानपुर प्रहरी चौकी छ । भगवानपुरबाट चार किलोमिटर उत्तरमा सईको कमान्डमा इलाका प्रहरी कार्यालय महेशबारी छ ।

पाँच किलोमिटर उत्तर लहानको अस्पताल चोकनजिकको पार्कमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली बस्छ । बोर्डरबाट तीनवटा प्रहरी पोस्ट र एउटा बिओपी पार गरेर गाडी लहानसम्म पुग्छन् । सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिनासेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन् ।

ठाढी भन्सार कार्यालयको पछाडि सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) का साथै नेपाल प्रहरीको समेत उपस्थिति छ । ठाढीबाट अहिले तस्करीको सामान सीमा पार गरेपछि पश्चिमको बाटो हुँदै बसपार्क पुग्छ । बसपार्कमा बस र अन्य सवारीसाधनमा लोड भएर त्यो सामान लहानलगायतका बजारमा पु¥याइने गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्