काठमाडौं । पोखरामा सम्पन्न प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा इरानी टोलीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलको पहिलो सेट २५–१८ ले जित्दै उत्कृष्ट सुरुआत गरेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तर तेस्रो र चौथो सेटमा पुनः लयमा फर्कँदै २५–१८ र २५–१७ को जीतसँगै उपाधि हात पारेको हो ।
उपाधिसहित इरानी टोलीले नगद ४ लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको नेपाल पुलिस क्लबले भने २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।
त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै कास पदक जित्यो । आर्मीले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २२–२५ ले गुमाए पनि चौथो सेट २५–२३ ले जित्दै तेस्रो स्थान सुरक्षित गर्यो । यस जितसँगै आर्मीले १ लाख ४४ हजार ४४४ को पुरस्कार प्राप्त गर्यो ।