काठमाडौं । नेकपा (बहुमत) निकट युवा सङ्गठन कम्युनिष्ट युवा सङ्गठन नेपाल ले एमाले, कांग्रेस र माओवादीको ‘लुटतन्त्र’विरुद्ध सङ्घर्षको घोषणा गरेको छ । सङ्गठनले राजधानीको संवाद डबलीमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी भ्रष्टाचार र कुशासनविरुद्ध सशक्त आन्दोलन सुरु गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष हरिश भट्टले वैशाख १६–१९ गतेसम्म काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनका निर्णयहरू सार्वजनिक गर्दै देश तीन ठुला पार्टीहरूको मिलेमतोमा लुटिएको आरोप लगाए । उनले भने, ‘चप्पल पट्काउँदै आएका नेताहरूले आज देश टाट पल्टाउने अवस्थामा पुर्याए, अब हामी चुप लाग्ने छैनौँ ।’
भट्टले सहकारी, लघुवित्त र मिटरब्याजी पीडितहरूको आवाज ओली नेतृत्वको सरकारद्वारा बेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको आर्थिक अवस्था धराशायी हुँदा पनि सत्तारूढ दलहरूले सत्ता र शक्तिको लागि मात्रै राज्यको ढुकुटी दोहन गरिरहेको आरोप लगाए ।
अध्यक्ष भट्टले देशभरका राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी आवश्यक कानुनी कारबाहीको माग गर्दै, त्यसका लागि सङ्गठनले वडादेखि सङ्घसम्म चरणबद्ध आन्दोलनको तयारी गरिरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा सङ्गठनको नाम क्रान्तिकारी युवा सङ्गठन बाट परिवर्तन गरी कम्युनिष्ट युवा सङ्गठन नेपाल राखिएको घोषणा गरिएको थियो । हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा हरिश भट्ट, उपाध्यक्षमा प्रमोद सिंह, महासचिवमा भुवन रम्तेल, सचिवहरूमा दिपेन्द्र ऐर, सुदीप सुर्खेती, प्रकाश शर्मा, लोकेन्द्र राई, र कोषाध्यक्षमा ज्योतिष रोय चयन भएका छन् ।
कार्यक्रममा भ्रष्टाचार, कुशासन, आर्थिक बेथिति विरुद्धको सङ्घर्षका लागि २१ बुँदे निर्णयहरू पनि सार्वजनिक गरिएको छ ।