
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ गते रेशम पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।
साथै रेशमको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको उनको भनाई थियो । ‘प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीप्रति भएको घटनाको सरकारले सार्वजनिक जवाफ देओस्,’ उनले भनिन्, ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
उनले राज्यका संयन्त्रहरूमाथि प्रश्न गर्दै कसरी एउटा व्यक्तिको रिसीवीका कारण मानिसलाई दुःख दिइन्छ भन्दै आक्रोश पोखिन् । ‘सभामुख मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु कसरी एक निर्वाचित प्रतिनिधि, जननेता कार्यक्रम स्थलबाटै यस्तो तवरले पक्राउ पर्छन । कसरी राज्यका सम्यन्त्रहरूले एक व्यक्तिको व्यक्तिगत रिसीवीलाई कानुनभन्दा माथि राख्छन् । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु । घटनाको गहिरो अध्ययन होस्,’ उनले भनिन् ।
जनमत पार्टी र नागरिक उन्मुक्त्बिीच यहि बैशाख १७ गते एकता घोषणा हुँदैथियो । तर, एकता घोषणा सभामा सहभागी हुन पुगेका चौधरी प्रज्ञा भवन परिसरबाटै पक्राउ परेका थिए । उनको पक्राउ पुर्जी फर्जी रहेको पाइएपछि उनी पाँच घण्टा हिरासत बसेर रिहा भएका थिए ।














