काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा व्यक्त गरेको विचारको आलोचना गर्दै एमालेका सचिव समेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुङ्गा नहान्न भनेका हुन् ।
‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने मूर्खता नहोस्,’ योगेशले भनेका छन् ।
संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने त्यही व्यवस्था अनुसार केपी अोलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुने भन्दै उनले प्रश्न गरेका हुन् । झापाको दमकमा बनेको भ्युटावरको आलोचना नगर्न पनि उनको आग्रह छ । कुनै अपराध गरेको जस्तो गरेर भ्युटावरको विरोध गरेर गीत नगाउन उनको विपक्षी दलहरूलाई आग्रह छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको विषयमा विरोध गरेकोमा पनि सांसद भट्टराईले आपत्ति जनाए । ‘एक जना सहसचिवलाई सरकारले हटाएकोलाई मुटु नै फुटेको जस्तो गर्नुभयो,’ एमाले सांसद भट्टराईले भने ।











