काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत ढर्रामै सीमित रहेको टिप्पणी गरेका छन् ।

मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै वाग्लेले नीति तथा कार्यक्रमले ‘उपादेयता धेरै नभए पनि परम्परा धान्ने’मात्र काम गरेको बताए । उनले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आएको उल्लेख गर्दै यसले कर्मकाण्ड दोहोर्याउने काम मात्रै गरेको जिकिर गरे ।
‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो, जुन कर्मकाण्डमै सीमित छ,’उनले भने, ‘निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै यसले अर्थ राख्छ।’
वाग्लेले चालु वर्षको नीति तथा कार्यक्रम सुनेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याई ल्याएको पुरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको पनि स्मरण गराए । उनले नीति तथा कार्यक्रमको मूल उद्देश्य खोज्दा समेत ठोस उपादेयता भेटिएन भन्ने धारणा व्यक्त गरे ।














