Logo
Logo

त्रियुगा नदीमा आएको बाढीले बस बगायो


2.4k
Shares

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीच भएर बग्ने त्रियुगा नदीमा आएको बाढीले सोमबार राति एक यात्रुवाहक बस बगाएको छ । 

को १ ख ४७५३ नम्बरको ‘बराहक्षेत्र’ नामक यात्रुवाहक बस सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा राति ११ बजे त्रियुगा नदीमा फसेको थियो । बाढीले बगाएर डुबाएको उक्त बसमा चालक र सहचालक मात्र सवार थिए । चालक र सहचालक सकुशल रहेका प्रहरीले जनाएको छ । 

बेल्टारबाट धरान चल्ने न्यू प्रतिसारा यातायातको उक्त बस नदीमा डुबिएपछि निकाल्न क्रेन बोलाइएको प्रहरीले जनाएको छ । त्रियुगा नदीमा वर्षाको समय हुने बाढीले प्रत्येक वर्ष जनतालाई सास्ती दिँदै आएको छ। सिवाई–बेल्हा जोड्ने उक्त नदीमा निर्माण भएको पक्की पुल उद्घाटन नहुँदै भत्किएपछि स्थानीय ज्यान जोखिममा राखेर नदी पार गर्न बाध्य छन् ।

२०६६ सालमा शिलान्यास भएको त्रियुगा नदीमाथिको पक्की पुल २०७८ मा निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर उद्घाटन नहुँदै आएको बाढीले पुलका दुई पिलर भासिएर तीन स्पान भत्किएपछि पुल प्रयोगविहीन बनेको छ ।

७ मिटर चौडाइ र ३०७ मिटर लम्बाइको उक्त पुलमा जम्मा १२ वटा २५ मिटर स्पान रहेका छन् । तीमध्ये दुई स्पान र एक पिलर अहिले भासिएको अवस्थामा छन् ।

पुल निर्माणका लागि सङ्घीय सरकारलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको  स्थानीयको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै पुल नयाँ डिजाइनमा बन्ने बताएका थिए, तर अहिलेसम्म कुनै पहल भएको  भने छैन।

महालक्ष्मी र लोकप्रिय जेभी कन्स्ट्रक्सनद्वारा निर्माण गरिएको पुलको डिजाइन तथा माटो परीक्षण काठमाडौंको बालाजुस्थित स्वाइल कन्सल्टेन्सीले गरेको थियो ।

यो पुलले उदयपुर जिल्लालाई खोटाङको दक्षिणी तथा भोजपुरको पश्चिमी भेगसँग जोड्ने महत्त्वपूर्ण माध्यम हो । यसले चौदण्डीगढी नगरपालिका–५, ९, र १० का करिब २० हजार बासिन्दालाई नगरको केन्द्रसँग जोड्ने गर्छ । 

प्रतिक्रिया दिनुहोस्