काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फालिएका राजाको आलोचनामा समय नखर्चन गणतन्त्रवादी नेतालाई आग्रह गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न मंगलबार प्रतिनिधिसभाको रोस्ट्रममा उभिएका गुरुङले राजतन्त्र फालिसकिएको भन्दै त्यस विषयमा टिप्पणी गर्नु मरेको बाघको जुँगा उखेलेर पुरुषार्थ देखाउनुजस्तै भएको बताए ।

‘०६२÷६३ को जनआन्दोलनले लखेटेर भीरबाट लडेर मरेको बाघको लासलाई पुक्कपुक्क लात हान्नेहरूको पनि खुट्टा गन्हाउँदै छ, हामी सचेत हुनुपर्छ, मरेको बाघ बोकेर हिँड्नेहरूको काँध गन्हाएकै छ । हामी (गणतन्त्र पक्षधर)ले पनि मरेको बाँघको जुँगा उखेलेर पुरुषार्थ देखाउन बन्द गर्नुपर्छ ।’
उनले गणतन्त्रवादीको कर्मले यो व्यवस्था फलाउने÷फुलाउने र यसका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा जोड दिए । संविधान कार्यान्वयनको १० वर्षको अनुभवले यसको संशोधन आवश्यक देखिइसकेको उनले उल्लेख गरे ।
उनले भने, ‘संविधानका विषयमा समीक्षा आवश्यक छैन, प्रयोगबाट यसको समीक्षा भइसकेको छ,’ उनले भने, ‘संविधान संशोधनका विषय यहाँ (नीति तथा कार्यक्रम)मा आएको छ । संशोधनका लागि सर्वदलीय समिति गठन गरिनेछ भन्ने थपिदिएको भए सुनमा सुगन्ध हुने थियो ।’
उनले संविधान संशोधन गर्दा जनप्रतिनिधिको संख्या घटाउन सुझाव दिए । त्यसनिम्ति समानुपातिक ११० संख्या हटाएर प्रत्यक्ष निर्वाचनबाटै उक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
‘हाम्रो जनस्रंख्या र जनप्रतिनिधिको संख्या हेर्दा जनसंख्याको अनुपातमा भारतमा १३ हजार जनप्रतिनिधि हुन्छन्,’ सांसद गुरुङले भने, “त्यसैले समानुपातिक प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचन सुनिश्चित गरौँ । जनप्रतिनिधिको संख्यासँगै देशको खर्च पनि घटाऔँ ।’
सांसद गुरुङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भनेर मात्र नपुग्ने बताए । ०४६ सालयता सार्वजनिक पदमा बसेका र राजनीतिमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्न सके सुशासनको जग बस्नेमा जोड दिए ।














