काठमाडौं । लगातारको पाँच दिनको ओरालो लागेको सेयर बजारमा परिसूचक नेप्सेमा आज मङ्गलवार भने सामान्य अङ्कको सुधार आएको छ । लगातार पाँच कारोबार दिन घटेपछि मङ्गलवार सेयर बजार सूचक नेप्से १.०३ अङ्कले उकालो लागेको हो । आज उकालो लागेसँगै २६११.४३ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से ९.९८ अङ्क र आइतबार ३.४४ अङ्कले घटेको थियो । यस्तै, गत साताको सोमबार नेप्से १४.५३ अङ्क, मङ्गलवार १५.०८ अङ्क र बुधवार ८.१४ अङ्कले घटेको थियो ।
आज नेप्सेमा कुल ८ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मङ्गलवार कारोबारमा आएकामध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको घटेको छ । नेपाल माइक्रो इन्स्यारेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र रिडी पावर कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । मङ्गलवार जलविद्युत् समूहको सेयर मूल्यमा १.५४ प्रतिशत र व्यापार समूहको सेयर मूल्यमा २.०७ प्रतिशतको सुधार आउँदा फाइनान्स समूहमा १.१० प्रतिशतको गिरावट आएको छ ।














