काठमाडौं । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मङ्गलवार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ ।

नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको हो । नेपालको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिनेछ ।
एमालेमा कुनै बेला प्रभावशाली नेता रहेका नेपाल पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री थिए । त्यसपछि शिक्षामन्त्री पनि बनेका थिए ।
२०६५ सालको आठौँ महाधिवेशनमा महासचिव, ०७१ सालको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार थिए । तर, दुवै चुनावमा उनी पराजित बन्न पुगे ।














