काठमाडौं । बैङ्किङ कसुर र चेक अनादर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार अग्रवाललाई मंगलबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३० निवासी ४७ वर्षीय अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले विभिन्न मुद्दामा कैद र जरिवानाको फैसला गरेको थियो ।
अदालतले २०८० जेठ २२ गते बैङ्किङ कसुरसम्बन्धी मुद्दामा अग्रवाललाई ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि २०८० असार २१ गते चेक अनादरको अर्को मुद्दामा उनलाई ३ हजार रुपैयाँ जरिवाना, र २०८० फागुन २४ गते चेक अनादरकै अर्को मुद्दामा ४ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला भएको थियो ।
ग्रिनलाइन सेन्टर नामक ब्रान्डेड मदिरा व्यवसाय सञ्चालन गर्दै आएका अग्रवाललाई यसअघि २०७८ फागुनमा पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । तर त्यतिबेला उनी धरौटीमा छुटेका थिए ।
सञ्जय अधिकारीलगायतले अग्रवालविरुद्ध चेक बाउन्सको जाहेरी दिएका थिए । अधिकारीले दिएको जाहेरीमा ५० लाख रुपैयाँको चेक बाउन्स भएको उल्लेख गरिएको छ ।
फैसलापछि फरार रहेका अग्रवाल केही समय भारत पनि फरार भएको र बैङ्कहरूसँगको ऋणसमेत नतिरी परिवारसहित व्यापार बन्द गरी भागेको खुलेको छ। उनले ऋण तिर्ने आश्वासन दिँदै आएका थिए । अग्रवालविरुद्ध अब अदालतको फैसला कार्यान्वयन प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।














