काठमाडौं । भारत र पाकिस्तान तनावमा नेकपा माओवादी केन्द्रमा दुईमत दुई देखिएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले काश्मिरको पहलगाम आक्रमणमा पाकिस्तानलाई आरोप लगाएर भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताएका छन् ।

तर, माआवादीका उपमहासचिव जनार्दन शर्माले भारतको पाकिस्तानमाथि भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’लाई समर्थन गरेका छन् । उनले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छुन् ।
यसैबेला माओवादीका महासचिव देव गुरूङले भने सामाजिक सञ्जालमा भनेका छन्, ‘पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिन्दैन ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन ।’
उनले सैन्य कारबाहीहरू बन्द गरी पहलगाम आक्रमणबारे स्वतन्त्र प्रकारको अन्तराष्ट्रिय छानबिन हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अतः त्यस प्रकारको सैन्य कार्यबाहीहरु अविलम्व बन्द गरी दुबै मुलुक विचमा संवाद गरिनु पर्छ। पलगाम हत्या काण्डबारे स्वतन्त्र प्रकारको अन्तरराष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनु पर्छ ।’
भारत र पाकिस्तानबीच सुरु भएको युद्धबारे सरकारसहित कुनै पार्टीले औपचारिकरूपमा धारणा सार्वजनिक नगरिरहेको बेला माओवादी नेताको धारणा आएको हो ।
नेता शर्माले सामाजिक सञ्जालमार्फत आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका हुन् । उनले भनेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो ।’ साथै उनले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।














