काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र नफर्काई राजावादी समूह नफुट्ने दाबी गरेका छन् । बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरेको छ ।

उक्त घोषणा लगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भने, ‘हामीले हाम्रो आन्दोलन भनौँला, यो सिङ्गो देशवासीको आन्दोलन हो । यो आन्दोलन निष्कर्षमा नपुगी हामी छुट्ने छैनौँ ।’
उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभई सिङ्गो देशको भएको दाबी गरे । ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने ।
उनले गणतन्त्रवादीहरूलाई पनि आन्दोलनमा सहभागी हुन अपिल गरे । ‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दु राष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ उनले भने ।
उनले भने , ‘यो ध्रुवीकरणमा सामेल हुन अहिलेको कथित गणतन्त्रको पक्षमा रहेका, ०६२/०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’














