काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने अधिकांश वस्तुहरूमा लगाइएको १४५ प्रतिशत भन्सार महसुल अहिलेको लागि यथावत् रहने बताएका छन् । स्विट्जरल्यान्डमा हुन लागेको अमेरिकी-चिनियाँ व्यापार वार्ताको तयारी भइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

चीनका लागि नियुक्त नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ समारोहमा बोल्दै ट्रम्पले अब अमेरिका अघिल्ला वर्षहरूमा जस्तो ठुलो व्यापार घाटामा नरहेको दाबी गरे । ‘हामी पहिले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ,’ उनले भने ।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै जब ट्रम्पसँग भन्सार महसुल घटाउने विषयमा प्रश्न गरियो, उनले सिधै भने, ‘विचार गरेको छैन ।’
त्यस्तै, ट्रम्पले चीनले अमेरिका–चीन व्यापार वार्ताको पहल गरेको दाबीलाई पनि खारेज गरे । ‘उनीहरूले भने हामीले पहल गरेकोरु मलाई लाग्छ उनीहरूले फर्केर आफ्ना फाइलहरू हेर्नुपर्छ,’ उनले भने ।
ट्रम्पको यस अभिव्यक्तिपछि अमेरिकी सेयर बजारमा नकारात्मक असर परेको छ । भन्सार महसुल नघटाउने निर्णय सार्वजनिक भएपछि बजार क्रमशः ओरालो लागेको छ ।
व्यापार वार्ता मार्च महिनामा सुरु भएको भन्सार महसुल युद्धपछि ठप्प अवस्थामा थियो । तर, यस हप्ताको बैठक अमेरिकी र चिनियाँ उच्च अधिकारीहरूबीचको पहिलो औपचारिक वार्ता बन्ने अनुमान गरिएको छ ।
यसैबीच, अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्व) का अध्यक्ष जेरोम पावेलले व्यापार वार्ताको नतिजाले अमेरिकी अर्थतन्त्रमा गहिरो असर पार्न सक्ने बताएका छन् । ‘हामी एउटा नयाँ चरणमा प्रवेश गर्दैछौँ, जहाँ सरकार महत्त्वपूर्ण व्यापारिक साझेदारहरूसँग संवादमा जुटेको छ,’पावेलले भने, ‘यसले आर्थिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ — वा ल्याउन सक्दैन ।’