काठमाडौं । भारतीय राज्य महाराष्ट्रको सन्दिप विश्वविद्यालयले नेपाली विद्यार्थीहरूका लागि ८ करोड भारु (करीब १३ करोड नेपाली रुपैयाँ) बराबरको छात्रवृत्ति घोषणा गरेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका प्रतिनिधिहरूले सो जानकारी दिएका हुन् ।

कार्यक्रममा विश्वविद्यालयका व्यवस्थापक आर.एन.झाले भारतीय विश्वविद्यालयहरू नेपाली विद्यार्थीप्रति संवेदनशील रहेको उल्लेख गर्दै सन्दिप विश्वविद्यालयमा विद्यार्थीहरूको सुरक्षालाई विशेष प्राथमिकता दिइएको दाबी गरे । उनले भने, ‘हामीकहाँ नेपाली विद्यार्थीहरूका लागि शैक्षिक वातावरण सुरक्षित र अनुकूल छ । अन्य क्याम्पसहरूमा भएका घटनाहरूले हामीलाई स्तब्ध बनाएको छ र भारत सरकारले ती घटनाहरूको गम्भीर छानबिन गरिरहेको छ।’
झाले पत्रकार सम्मेलनमार्फत केही समययता नेपाली समाजमा देखिएको भारतीय शैक्षिक संस्थाप्रतिको नकारात्मक धारणा हटाउने उद्देश्यले नेपाल आएको बताए । उनले भने, ‘हामीकहाँ पढ्न आउने विद्यार्थीहरू ढुक्क भएर आउन सक्ने वातावरण छ।’
सन्दिप विश्वविद्यालय भारतको महाराष्ट्रको नासिक र बिहारको मधुबनीमा सञ्चालनमा रहेको छ । दुवै क्याम्पसमा गरी झन्डै २५ हजार विद्यार्थी अध्ययनरत छन्, जसमा २ सयभन्दा बढी नेपाली विद्यार्थी रहेका छन् ।
कार्यक्रममा सहभागी विश्वविद्यालयका अर्का प्रतिनिधि अमित यादवले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र भाषिक सम्बन्धलाई उल्लेख गर्दै नेपाली विद्यार्थीप्रति विशेष लगाव रहेको बताए । ‘हामी सदियौँदेखिको मित्रता र समझदारीलाई शिक्षा क्षेत्रबाट अझ बलियो बनाउने प्रयासमा छौँ,’ यादवले भने ।














