
काठमाडौं । भारतीय सेनाको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानको बहावलपुरमा गरिएको सर्जिकल स्ट्राइकमा ‘कुख्यात आतङ्कवादी’ भनिएका र जैश–ए–मोहम्मदका उपप्रमुख अब्दुल रउफ अजहर मारिएका छन् ।
भारतीय सञ्चार माध्यमकाअनुसार मिसाइल आक्रमण जैशको मुख्यालय ‘मरकज सुभान अल्लाह’ मा लक्षित थियो । जहाँ अजहर र उनका परिवारका १० सदस्यसहित १४ जनाको ज्यान गएको छ ।
रउफ अजहर, जैश–ए–मोहम्मदका संस्थापक मसूद अजहरका कान्छा भाइ हुन् । उनी लामो समयदेखि भारतको ‘मोस्ट वान्टेड’ सूचीमा थिए । २००७ मा मसूद अजहर भूमिगत भएपछि रउफले सङ्गठनको अपरेशनल नेतृत्व सम्हालेका थिए । भारत विरुद्ध विभिन्न आतङ्कवादी हमलाहरुमा उनको हात ररहेको भारतको भनाइ छ ।
रउफ अजहरलाई काण्डहर अपहरण, पठानकोट हमला र भारतीय संसद्मा आक्रमणजस्ता गम्भीर ‘आतङ्कवादी गतिविधि’को प्रमुख योजनाकार मानिन्छ । १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरेर अफगानिस्तानको कान्दाहारमा लगिएको घटनासँग पनि उनको नाम जोडिएको छ । सोही घटनामा भारतले तीन जना आतंकवादीहरूको रिहाइ गर्नुपरेको थियो ।
रउफको मृत्युले जैश–ए–मोहम्मदमा नेतृत्व सङ्कट उत्पन्न हुने अनुमान गरिएको छ । सङ्गठनका संस्थापक मसूद अजहर पहिले नै लामो समयदेखि भूमिगत छन् । अब रउफको निधनले सङ्गठनको रणनीतिक र अपरेशनल क्षमतामा गम्भीर धक्का पुग्ने ठानिएको छ ।
अपरेशन सफल
भारतले २०२२ मा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रतिबन्ध समितिमा रउफ अजहरलाई ‘ब्ल्याकलिस्ट’ गर्न प्रयास गरेको थियो । तर, चीनले थप प्रमाण चाहिन्छ भन्दै उक्त प्रयासलाई रोकिदिएको थियो । २०२५ मा भएको ‘अपरेशन सिन्दूर’ भारतको लक्ष्य पूरा ग¥यो । जुन कूटनीतिक प्रयासले सम्भव हुन सकेको थिएन ।
रउफको अन्त्येष्टि बहावलपुरमै गरिएको थियो । जहाँ पाकिस्तानको गुप्तचर संस्था आइएसआइ र सेनाका वरिष्ठ अधिकारीहरू समेत उपस्थित थिए ।











