नयाँदिल्ली । पाकिस्तानले भारतमाथि बिहीबार साँझ दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी पाकिस्तानले ड्रोन आक्रमण गरेको उल्लेख गरेका छन् । आक्रमणबाट के कति क्षति भयो भने अहिलेसम्म खुलेको छैन ।

यसमा जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया रहेका छन् । त्यसैगरी पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निसानामा परेका छन् ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ । पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ । राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गर्न लगाइएको छ ।
पञ्जाब, जम्मू कश्मीर र राजस्थान उच्च सतर्कतामा छन् । पञ्जाबको जालन्धर र अमृतसरमा ब्ल्याकआउट गरिएको थियो । जसमा कारण बिहीबार राति पूर्ण रूपमा अन्धकार बनेको थियो भने बीकानेर र श्रीगंगानगर पनि पूर्ण रूपमा अन्धकार बन्यो ।
यसैबिच, जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गर्न लगाइएको छ। आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट रातभरी भारी गोलाबारी भएको छ । धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।
नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा दुवै तर्फबाट अहिले बिहानसम भारी गोलाबारी भइरहेको जनाइएको छ ।










