Logo
Logo

एन्फाको साधारणसभा : थापालाई गेटमै किन रोकियो ?


1.9k
Shares

बनेपा । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा अहिले जारी छ । भर्खरै सुरु भएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई भने प्रवेशमा रोक लगाएको छ । विवादका बाबजुद पनि हलभित्र साधारणसभा जारी छ ।

केहीबेरअघि राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारणसभाको उदघाटन गरेका थिए । साधारणसभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले पूर्वअध्यक्ष थापालाई गेटमै रोकेका थिए । अहिले यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थापा र उनका समर्थकरु भने भित्र प्रवेश गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । थापालाई साधारणसभा सहभागी हुन पाउने गरी उच्च अदालत पाटनले आदेश दिएको थियो । त्यसैले थापाले आफूलाई साधारणसभामा प्रवेश गर्न पाउनुपर्ने बताएका छन् ।
तर, एन्फाका प्रवक्ता सुरेश शाहले भने अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नभएको बताए । उनले भने, ‘यसको प्रक्रिया होला, सचिवालयमा पेपरहरु आउला । एन्फाको अहिले केस हेर्नुहुन्छ भने २५–३० केस छन् । कुन सचिवालयमा आयो÷आएन भन्ने सबै विषयहरु सचिवालयले मलाई जानकारी गराउने हो । त्यो जानकारी पछाडि मैले आधिकारिक हिसाबले बोल्ने हो । तर वास्तविक के छ भन्ने जबसम्म मैले सचिवालयसँग सम्पर्क गर्न सक्दिनँ तबसम्म मलाई पनि थाहा हुँदैन ।’

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृयजस्तै थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय भएका हुन् । थापाले भ्रष्टाचार गरेको, घुस लिएको ताथ विभिन्न धारा उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए ।

प्रतिबन्ध अवधिमा उनले सामाजिक सन्जाल र मिडियाहरुमार्फत् एन्फाको गतिविधिको चर्को आलोचना गर्दै आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका थिए । यसबीच प्रतिबन्ध फुकुवा भएपनि एन्फाले साधारणसभामा आफूलाई रोक लगाउन सक्ने संकेत पाएको भन्दै उनले साधारणसभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए ।

२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारणसभामा भाग लिन धुलिखेल गएका थिए । छोरासँग धुलिखेल पुगेका उनलाई गेटमै रोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्