काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल-भारत सीमाक्षेत्रतर्फ नजान सुझाव दिएको छ । दूतावासले चीनको लोकप्रिय सन्देशवाहक एप ‘वीच्याट’ मार्फत सार्वजनिक सूचनामार्फत चिनियाँ नागरिकहरूलाई सीमा क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।

दूतावासले भनेको छ, ‘नेपाल र भारत दुवै मुलुकले सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेका छन् । यस्तो अवस्थामा अनाहकमा भारतीय भूमि प्रवेश हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नागरिकहरूले विशेष सतर्कता अपनाउनु आवश्यक छ ।’
सन्देशमा विशेष गरी नेपाल–भारत खुला सीमाका कारण बिना भिसा गल्तीले भारतीय भूमिमा प्रवेश हुने सम्भावनाबारे सचेत गराइएको छ । दूतावासले भनेको छ, ‘कुनै पनि व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारत छिर्ने कार्य कानुनी उल्लङ्घन हो । यस्तो अवस्थाबाट बच्न नागरिकहरू सतर्क रहनुपर्छ ।’
हालै भारत–पाकिस्तानबिचको कूटनीतिक तनाव तीव्र बनेको सन्दर्भमा भारतले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । यसका साथै नेपालले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ, जसले गर्दा अनधिकृत आवतजावत नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।














