काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बैंकरहरूको मनोमानीले बैङ्कहरू अस्तव्यस्त भएको बताएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बैंकरहरूको लुटको मनोमानीले आज बैंकरहरू अस्तव्यस्त भएको छ । एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैङ्कमा पैसा थुप्रिएको छ ।’

तरलता प्रशोधनको नाममा राष्ट्रबैंकले झन्डै २१ अर्ब ब्याज तिर्नुपरेको उनको भनाइ छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैङ्कलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गर्भनर नियुक्त हुन नसकेको बताए । यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनको भनाइ छ ।
अर्थतन्त्र सुधार गर्न बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको साहले बताए । ब्याज र सेवा शुल्कका नाममा बैङ्कले आफूखुसी निर्णय लिने गरेको बताए । एउटा बैङ्कको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झन्डै १२ रुपैयाँ लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग गरे ।














