Logo
Logo

गभर्नर नियुक्ति नहुनुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी : अमरेशकुमार सिंह


0
Shares

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा त्यसको गम्भीर असर परिरहेको बताए ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाए । उनले भने, ‘सरकारले सामान्य प्रक्रियाअन्तर्गत गभर्नर नियुक्ति गर्नु पर्ने हो । तर, दुई दलबिच भागबण्डाको झगडाले एउटा गभर्नरको नियुक्ति हुन सकेको छैन ।  आर्थिक क्षेत्रमा त्यसको आर्थिक असर कति पर्छ सरकारलाई मतलब छ ?’

सरकारमा बसेका प्रमुख दुई दलको ध्यान कसरी आफ्ना कार्यकर्तालाई नियुक्ति दिलाउने र आर्थिक क्षेत्र कब्जा गर्ने भन्नेमा मात्र केन्द्रित रहेको उनले बताए ।  यो कार्यकर्ताको मात्र देश हो कि नेपाली जनताको पनि हो भन्दै उनले दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त पारेको दाबी गरे ।

सांसद सिंहले मलको हाहाकार भएर किसान मर्कामा परिरहेको पनि सुनाए । उनले भने, ‘मलको हाहाकार छ । मल पाइएको छैन । सीमापारि मल पाइन्छ । त्यताबाट एक–दुई बोरा लिएर आउने किसानलाई समातेर सशस्त्र प्रहरीले पौरख देखाइरहेको छ । तर, रातभर हुने तस्करी रोक्नेतर्फ ध्यान छैन,’

उनले सरकार किसानविरोधी र बिचौलियामैत्री बनेको आरोप पनि लगाए । उनले पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिँदा पर्यटनको विकास हुन नसकेको चर्चा गरे ।

‘जनकपुर धार्मिक पर्यटन स्थल भए पनि त्यहाँबाट लुम्बिनी जान खोज्दा सहजै जान सकिने अवस्था छैन । बल्लबल्ल पुग्ने पर्यटकले लुम्बिनीबाट पोखरा जान पनि उस्तै सकस झेल्नुपर्छ । किनभने, पूर्वाधार निर्माणमा सरकारले ध्यान नै दिएको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्