Logo
Logo

नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन सकेन : राजेन्द्र लिङ्देन


441
Shares

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले अघिल्लो वर्षको नीति तथा कार्यक्रम हालकोभन्दा केही सकारात्मक देखिएको बताए । ‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा अघिल्लो चोटीको नीति तथा कार्यक्रममा केही फरक देखाउन कोसिस गरिएको देखिन्थ्यो,’ उनले भने, ‘तर यस वर्ष यस्तो प्रयास नै गरिएको छैन ।’

गत वर्ष सरकारको नीति तथा कार्यक्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा आशा र भरोसा जगाउने उल्लेख गरिएको उल्लेख गर्दै उनले  तर यसपालि भने त्यो नभएको बताएका हुन् । 

‘यस वर्ष फरक भाषा प्रयोग गरिएको छ,’ लिङ्देनले भने, ‘व्यवस्थाको रक्षार्थ लड्ने भनिएको छ, जसले सरकारको मानसिक अवस्था कमजोर रहेको सन्देश दिन्छ ।’

संविधानले व्यवस्थाको विषयमा प्रश्न उठाउन छुट दिएको भन्दै लिङ्देनले राप्रपाले संविधानभित्रै रही आफ्ना एजेण्डाहरू अघि बढाउने स्पष्ट पारे । ‘कतिपयले संविधान खारेजीको माग गरिरहेका छन्, तर हामी संविधानभित्र रहेर काम गर्ने प्रतिवद्धता जनाउँदै आएका छौं,’ उनले भने।

लिङ्देनले वर्तमान सरकारले अघिल्लो सरकारले जस्तै जनतामा आशा जगाउने कोसिस गर्नुपर्ने सुझाव दिए । ‘फजुल खर्च कम गर्नु, अनावश्यक संरचना खारेज गर्नुजस्ता उपायले जनतामा भरोसा फर्काउन सकिन्छ,’ उनले स्पष्ट पारे ।

उनले जनतामा निराशा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै, सरकारको नीति तथा कार्यक्रमले त्यसलाई चिर्न सक्नुपर्ने बताए । ‘हामी त्यस्ता सुधारात्मक कदममा सरकारसँग सहयोग गर्न तयार छौं,’ लिङ्देनले भने । 

प्रतिक्रिया दिनुहोस्