काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ ।

बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो निर्णय लिइएको हो ।’
बीसीसीआईले सुरक्षा बलको तयारी र क्षमतामा पूर्ण विश्वास राखे पनि सबै सरोकारवालाको साझा हितलाई ध्यानमा राखेर यो निर्णय लिएको जनाइएको छ ।
विहीबार धर्मशालामा भएको पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि उक्त क्षेत्रमा रहेका खेलाडी, कर्मचारी र सञ्चारकर्मीलाई सुरक्षित स्थानमा सारिने तयारी गरिएको थियो । धर्मशाला कश्मीर नजिकैको संवेदनशील क्षेत्र हो ।
परिस्थितिको पूर्ण मूल्याङ्कनपछि सरोकारवाला निकायहरूसँगको समन्वयमा नयाँ तालिका र स्थानबारे सूचना सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ ।
आईपीएल २३ मेसम्म चल्ने तालिका थियो । आइपिएलमा कुल १६ खेल बाँकी छन् ।