काठमाडौं । भारतले पाकिस्तानले ३ सयदेखि ४ सय ड्रोन प्रयोग गरी आफ्ना सैन्य पूर्वाधारमा लक्षित आक्रमण प्रयास गरेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रवार अपराह्न आयोजित प्रेस ब्रिफिङमार्फत उक्त जानकारी दिएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीले उक्त आक्रमण बिहीबार राति भएको बताउँदै, लेहदेखि सरक्रिक क्षेत्रसम्मका करिब ३६ स्थानमा ड्रोन गतिविधि देखिएको जानकारी दिइन् । उनका अनुसार, तीमध्ये धेरै ड्रोनहरू भारतीय सुरक्षाबलले काइनेटिक र गैर-काइनेटिक माध्यममार्फत खसाल्न सफल भएका थिए ।
भारतले पाकिस्तानलाई वायु रक्षा प्रणाली परीक्षण गर्ने प्रयास र गुप्तचर जानकारी संकलन गर्ने उद्देश्यले ड्रोन प्रयोग गरेको आरोप लगाएको छ । ड्रोनका भग्नावशेषहरूको फोरेन्सिक परीक्षण भइरहेको भारतीय सेनाले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती ड्रोनहरू टर्कीमा निर्मित हुन सक्ने आशङ्का भारतको छ ।
यस घटनाका सन्दर्भमा भारतले सीमा क्षेत्रमा पाकिस्तानतर्फबाट भारी गोलाबारी भइरहेको र त्यसक्रममा केही भारतीय सैनिकको मृत्यु भएको उल्लेख गरेको छ । जवाफी कारबाहीमा पाकिस्तानले ठुलो क्षति व्यहोरेको पनि भारतको दाबी छ ।
दाबीको प्रतिक्रिया स्वरूप पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका छन् । उनले भने, ‘हामीले अहिलेसम्म केही गरेका छैनौँ । जब पाकिस्तानले आक्रमण गर्छ, त्यसबारे सबैलाई थाहा हुनेछ ।’