Logo
Logo

निर्मला प्रकरणका तत्कालिन अनुसन्धान अधिकृत अंगुर जिसी भन्छन्– प्रहरीकाे आँट नहुँदा घटना नसुल्झिएको हो


- दृष्टि न्युज/संवाददाता


 काठमाडौं, ११ साउन ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष पुगेपछि अभियुक्त पहिचान गर्न नसकेको प्रहरीको आलोचना भइरहेको छ । यो घटनाले प्रहरी मात्र होइन सरकारलाई समेत ठूलो धक्का लाग्यो ।

प्रहरीको अनुसन्धान क्षमतामाथि प्रश्न उठाइयो । तर, अनुसन्धान भन्दा पनि व्यवस्थापन क्षमता नहुँदा यो घटना नसुल्झिएको प्रहरी अधिकारीहरु बताउँछन् । तथ्य भन्दा पनि त्यतीबेलाको प्रहरी नेतृत्वले भिडको आधारमा निर्णय गर्दै जाँदा समस्या भएको उनीहरुको भनाई छ । अहिलेको अनुसन्धानमा दिलिप नै अभियुक्त भएको निष्कर्षमा प्रहरी नेतृत्व पुगेको छ ।

सुरुमा अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसीले दिलिपलाई पक्राउ गरेका थिए । प्रमाण नष्ट गरेको अभियोगमा उनी हाल मुद्दा खेपिरहेका छन् । यो घटनामा दिलिपबाहेक अरुको संलग्नता हुनै नसक्ने उनी ठोकुवा गर्छन् ।

यस्तो छ उनको भनाई–
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको मेरो अनुसन्धान नतिजामा म अडिग छु । यो घटनामा दिलिपसिंह विष्ट बाहेक अरुको संलग्नता हुनै सक्दैन । आँकलनको भरमा होइन धेरै कोणबाट अनुसन्धान गरेर मात्र मैले यस्तो दाबी गरेको हुँ ।
नेपाल प्रहरीमा मभन्दा धेरै विज्ञ अनुसन्धान अधिकृतहरु हुनुहुन्छ । मैले हचुवाको भरमा कसैलाई खडा गरेको भए विज्ञ अनुसन्धान अधिकृतहरुले पत्ता लगाइहाल्थे नि । तर, दुई वर्ष बित्यो दिलिपबाहेक अहिलेसम्म कोही भेटिएका छैनन् ।

अहिले पछिल्लो अनुसन्धानले पनि दिलिप नै देखाएको छ । निर्मलाको आमाले पनि उहीविरुद्ध किटानी जाहेरी दिनुभएको छ । एआईजी धिरु बस्नेत नेतृत्वको टोलीको रिपोर्ट गलत भएको आइसकेको छ । डिएनए रिपोर्ट नै गलत भएको विज्ञ समितिबाटै प्रमाणित भइसकेको छ । अर्थात् हाम्रो अनुसन्धान नै सही थियो भन्नेमा धेरै जना पुगेका छन्, तर हिम्मत गरेका छैनन् ।

हामीले गरेको अनुसन्धानमा दिलिपले नै बलात्कारपछि हत्या गरेको हो भन्ने प्रशस्तै प्रमाण छन् । कुनै पनि अपराधको अनुसन्धानमा हामी सुरुमा घटनास्थलको विश्लेषण गर्छाै । यसरी शव भेटिएको घटनामा पाइमरी घटनास्थल त्यही हो कि होइन भन्ने हेर्ने गरिन्छ । मेरो विश्लेषणमा शव भेटिएको ठाउँमा घटनास्थल थिएन । किनकी त्यहाँ कुनै संघर्षको संकेत थिएन । अन्यत्रै बलात्कार गरी हत्या गरेर फालेको निष्कर्ष थियो । तर, कहाँनिर बलात्कार भयो भनेर हामीले ठम्याउन सकेका थिएनौं ।
तर, जब दिलिप पक्राउ परे उनले बलात्कार गरेको ठाउँ देखाइदिए । जून ठ्क्याकै मेल खान्थ्यो । अर्काेतर्फ सोधपुछको क्रममा उनले बताएको घटनाक्रममा कुनै फरक छैन । दिलिपले यसबारे बताएको भिडियो नै छ, पछि उनले बयान फेरेका हुन् ।

अनुसन्धानमा घटनास्थल रिकन्सट्रक्सन हुन्छ । जसअनुसार हामीले उसलाई घटनास्थल थाहा नभए जसरी लैजान भन्यौं । यसले त्यही लिएर गयो र पहिलो भनेअुनसार मारेको र फालेको ठाउँ देखायो । साइकल बिग्रिएकोदेखि कसरी हत्या गरेका सबै कुरा मेल खाएका छन् । त्यो हत्यामा संलग्न बाहेक अरुले बताउँदै सक्दैनन् ।

घटना देख्ने व्यक्ति कोही छैनन् । त्यो ठाउँमा सिसिटिभी छैनन् । तर, त्यो समयमा त्यही आसपास हिंडेको देख्ने व्यक्ति छन् । त्यो पनि बलियो प्रमाण हो । अर्काेतर्फ उसलाई पक्राउ गरेपछि ठूलो समूह आन्दोलनमा आएको थियो । दिलिपलाई त्यो ठाउँमा धेरै चिन्छन्, तर, त्यो समयमा अन्यत्र कतै देखेको भनेर बताउन सकेका छैनन् ।
प्राविधिक परीक्षणमा महेन्द्रनगरका १० हजार जनाको मोबाइलको विश्लेषण भएको छ । त्यती धेरै विश्लेषण गर्दा पनि कोही संकित भेटिएनन, अर्थात् मोबाइल नबोक्ने मान्छेले नै हत्या गरेको हो भन्ने प्रष्ट हुन्छ । दिलिपले मोबाइल बोक्दैन थिए ।
अर्काे कुरा उसको पृष्ठभुमीले पनि देखाउँछ । मान्छे मारेरै ९ वर्ष जेल बसेर छुटेको र परिवारका सदस्यलाई समेत मार्छु भनेर धम्काएका थिए । जून कुरा परिवारका सदस्यले मसँगै बताएका छन् । जून भिडियो रेकर्डमै छ । पछि उहाँहरुले कुरा फेर्नुभयो । अन्य महिलाहरुलाई पनि उसले यौन दुव्र्यवहारको प्रयास गरेको बताउनुभउको छ ।

सबैतिर सिसिटिभी हुँदैन, नेपाल जस्तो देशमा यस्ता अपराधमा धेरै मुद्दा परिस्थितीजन्य प्रमाणकै आधारमा चल्ने हुन् । यती धेरै परिस्थितीजन्य प्रमाण अन्य मुद्दामा सायदै संकलन भएको होला, तर पनि प्रहरी नेतृत्वले आँट गर्न सकेको छैन । कतिसम्म भने फेरि दिलिपलाई नियन्त्रणमा लिएर सोधपुछ समेत हुन सकेको छैन । यो भनेको हामीलाई झुटो मुद्दा चलाउनुको असर हो । दबाबकै भरमा हामीविरुद्ध मुद्दा चलाइयो, अरु प्रहरीले अनुसन्धानका लागि आफ्नो करिअर दाउमा राख्न चाहँदैनन् । त्यही भएरै यो मुद्दाको अनुसन्धान अल्झिएको हो ।

प्रतिक्रिया दिनुहोस्