काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर जारी गर्न बुक क्लोजको मिति तोकेको छ । कम्पनीको आज शुक्रवार बसेको बैठकले हकप्रद सेयर जारी गर्न आउँदो जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जेठ ५ गतेसम्म कायम सेयर धनीहरूले मात्रै यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले वैशाख २५ गते राप्ती हाइड्रोलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो । अब कम्पनीले आफ्ना सेयर धनीहरूलाई ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अङ्कित दरका कुल ६१ लाख २७ हजार ९८३ रुपैयाँ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ। हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।