काठमाडौं । द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।
उक्त सूचीप्रति द्वन्द्वपीडितले असन्तुष्टि जनाएका छन् । उनीहरूले आम द्वन्दपीडित समुदायलाई पूर्णरुपमा उपेक्षा गरी अपारदर्शी, देखावटी र भागबन्डाका आधारमा आयोगमा सिफारिस गर्न लागिएको आरोप लगाएका छन् ।
माग सम्बोधन नभए पीडितहरूको अनुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी उनीहरूले दिएका छन् । यसअघि उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सहभापति शेरबहादुर देउवालाई भेटेर पीडित पक्षबाट पनि आयोगमा राखिनुपर्ने माग गरेका थिए ।














