Logo
Logo

राजाले देशलाई कङ्गाल बनाए : प्रधानमन्त्री ओली


441
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाहरूले देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले देशलाई अहिलेको गरिबीको अवस्थामा पुर्‍याउने मुख्य जिम्मेवार राजतन्त्र भएको बताएका हुन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भने, देशलाई आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू नै अहिले ‘हामी नभई हुँदैन, हामी आउँछौँ, साथ देऊ’ भनेर लाज नमान्ने अवस्था छ । यिनै हरू हुन् जसले देश कङ्गाल बनाएका हुन् ।’

उनले पछिल्ला ३० वर्षमा मुलुकले उल्लेखनीय विकास गरेको उल्लेख गर्दै भने, ‘३० वर्षमै देशले विकासको गति लिएको छ । तथ्याङ्कले पनि प्रगति देखाउँछ । अब हामीले यो देशलाई बस्न लायक र विकसित बनाउनु छ ।’

पर्यावरणीय दृष्टिले नेपाल अत्यन्त पवित्र र स्वच्छ रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा हिमाल, पहाड, जङ्गल छन् । यो त देवभूमि हो । यहाँ त अक्सिजन नै अक्सिजन छ। यस्तो ठाउँमा फोक्साको व्यापारी कसरी आयो ?’

उनले देशलाई सही दिशामा लैजाने जिम्मेवारी अहिलेको पुस्ताले लिनुपर्नेमा जोड दिए । ‘अहिलेको पुस्ता नै देशको उपचार गर्ने पुस्ता हो । हामीले शुद्ध, पवित्र, स्वच्छ र समृद्ध नेपाल बनाउनु पर्छ,’ प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्