पाँचथर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफैँको गल्ती र कुकर्मका कारण ढल्ने दाबी गरेका छन् । पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभामा सम्बोधन गर्दै उनले सरकार ढाल्न आफूहरूलाई कुनै हतारो नरहेको स्पष्ट पारे ।

‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ, ढल्छ,’ प्रचण्डले भने, ‘हामी सरकार ढाल्ने हतारोमा छैनौँ, अहिले जनताको पक्षमा उभिएका छौँ ।’
उनले आगामी निर्वाचनमा आफ्नो पार्टी अरूको सहारामा होइन आफ्नै बलबुतामा अघि बढ्ने दोहोर्याए। ‘अब यी बुर्जुवा शक्तिको वैशाखी टेकेर चुनावमा जाँदैनौं, २०६४ सालझैं फेरि आफ्नै तागतमा चुनावमा जानेछौँ,’ प्रचण्ड भने ।
प्रचण्डले पार्टी र आफ्ना विरुद्ध विभिन्न भ्रम फैलाउने प्रयास भइरहेको भन्दै कार्यकर्तालाई सतर्क रहन आग्रह गरे ।’कतिपयले अनेक भ्रम छर्न खोजिरहेका छन्, त्यस्ता भ्रममा नपर्नुहोला,’ उनले भने ।
वर्तमान दुई तिहाइ सरकारप्रति कटाक्ष गर्दै उनले सरकारलाई ‘भिजेको बिरालो;सँग तुलना गरे। ‘दुई तिहाइ सरकारको हालत भिजेको बिरालोजस्तै भएको छ । राम्रो काम एक पनि गर्न सकेको छैन, केवल गलत काम मात्र भइरहेका छन्,’उनले भने ।














