काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले वर्तमान सरकारको कार्यशैलीले प्रतिगामी शक्तिहरूलाई हौसाएको आरोप लगाएका छन् । शनिवार राजधानीमा आयोजित रामेछाप–काठमाडौँ सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारले राजावादी प्रवृत्तिहरूलाई उत्साहित पारेको दाबी गरे ।

पुनले सहकारी घोटाला, भुटानी शरणार्थी प्रकरण र मिटरब्याज मुद्दामा सत्तारुढ दलका निकटका व्यक्तिहरूलाई बचाउने प्रयास भइरहेको उल्लेख गर्दै भने, ‘ओलीजीले बिचौलियालाई प्रोत्साहन गर्दा प्रतिगामीहरूले चलखेल गर्ने मौका पाएका छन्।’ उनका अनुसार आफ्ना पक्षका दोषीमाथि अनुसन्धान र कारबाही नगर्ने तर विपक्षीमाथि प्रतिशोधको नीति अपनाउने प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठेको छ ।
‘दुई तिहाइको सरकारबाट जनताका पक्षमा ठुला काम हुने आशा थियो, तर उल्टै व्यवस्थाको बदनाम गरियो,’ उनले भने । पुनले दलाल र बिचौलियामार्फत जनताको पसिना चुस्ने प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्ने चेतावनी पनि दिए ।
उनले विगतमा कर्मचारी सरुवा, सचिव नियुक्ति र मन्त्री चयनमा संलग्न रहेका बिचौलिया वर्ग अहिले सरकार नै चलाउने हैसियतमा पुगेको आरोप पनि लगाए’। ‘प्रचण्ड नेतृत्वको सरकार त्यसैले ढालियो, किनभने त्यो सरकारले बिचौलियाको दबाब स्विकारेन,’ पुनले दाबी ग’रे।
निजी क्षेत्रप्रति माओवादीको धारणा स्पष्ट गर्दै पुनले लगानी र प्रतिस्पर्धाविना लाइसेन्स बेचेर मुनाफा कमाउने वर्गलाई मात्र आफूहरूले बिचौलिया भनेको प्रष्ट पारे । उनले भने, ‘यो देशका सार्वभौम नागरिकले वंशाणुगत शासन स्विकार्ने छैनन्, प्रतिगामी शक्ति सफल हुँदैन ।’











