वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखिने बताएका छन् । वीरगञ्ज महानगरपालिका–१६ स्थित नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास समारोहमा बोल्दै मन्त्री यादवले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी सबै नागरिकसम्म पुर्याउने सरकारको प्रतिबद्धता रहेको बताए ।

‘नागरिकलाई शुद्ध र सुरक्षित पानी वितरण गर्नु मेरो प्रमुख लक्ष्य हो,’ मन्त्री यादवले भने, ‘खानेपानीको पहुँच विस्तारका लागि पर्याप्त बजेट विनियोजन हुनेछ ।’
उनले आगामी आर्थिक वर्ष २०८२/८३ मा खानेपानी तथा सरसफाइ क्षेत्रमा लगानी बढाइने जानकारी दिँदै हिमाल, पहाड, तराई तथा मधेसका सबै क्षेत्रमा आयोजनाहरू सशक्त ढङ्गले अघि बढाइने बताए । उनले खानेपानी आयोजनाहरू उपभोक्ता र स्थानीय तहसँगको सहकार्यमा एकीकृत ढङ्गले सञ्चालन गरिने पनि स्पष्ट पारे।
नागवा ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मन्त्री यादवले आयोजना समयमै सम्पन्न होस् भनेर आफैँले नियमित अनुगमन गर्ने आश्वासन दिए । उनले भने, ‘मेरो निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ पुग्ने यो आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व लागेको छ। पानी पनि गास, बास, कपडाजस्तै मानव जीवनको आधारभूत आवश्यकता हो, र आज हामी त्यो अधिकार सुनिश्चित गर्न अघि बढेका छौँ ।’
खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालका अनुसार वडा नं १५ र १६ का झन्डै ३,५०० घरधुरी यो आयोजनाबाट लाभान्वित हुनेछन् । उनले आयोजनाले क्षेत्रका नागरिकलाई शुद्ध, पर्याप्त र सहज पानी आपूर्ति सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वीरगञ्जका नगरप्रमुख राजेशमान सिंह, विभिन्न वडाका जनप्रतिनिधि, जसपा नेताहरू, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ लगायतको उपस्थिति थियो ।












