भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता सुध्रिए देश सुध्रन समय नलाग्ने बताएका छन् । शनिवार भैरहवामा आयोजित राप्रपा सिद्धार्थनगर नगर समितिको नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले फरक मत राख्नेहरूमाथि दमन भइरहेको भन्दै सरकारको आलोचना गरे ।

अध्यक्ष लिङ्देनले आफूहरूले यो संविधानप्रति विमति जनाउँदै आएको भए पनि त्यसको पालना गरिरहेको दाबी गरे । ‘हामीले संविधानमा केही असहमति जनाए पनि हामीले त्यसको सम्मान गरेका छौँ । तर अहिले संविधान बनाउनेहरू नै यसको उल्लङ्घन गरिरहेका छन्’, उनले भने । उनले संविधानमा राजसंस्था, हिन्दूराष्ट्र वा संघीयताबारे फरक विचार राख्न नपाइने भनेर कतै उल्लेख नभएको दाबी गरे ।
उनका अनुसार संविधानको स्वतः व्याख्या गरी विचार राख्ने व्यक्तिलाई गिरफ्तार गरिनु संविधानको मूल मर्मविपरीत हो । ‘राजसंस्था चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ भन्न पाइँदैन भन्ने त संविधानमै छैन, तर त्यही आधारमा थुन्ने काम भइरहेको छ,’उनले भने ।
सरकारले प्रतिशोधको राजनीति गर्दै फरक विचार राख्नेहरूमाथि दमन गरिरहेको आरोप लगाउँदै लिङ्देनले भने,’राजनीतिक विचार राखेको कारण कुनै दलमाथि प्रतिबन्ध लगाउन पाइँदैन । तर यो सरकार सत्ताको स्वार्थमा डुबेको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतको आदेशबिना नै रातारात सोधपुछ गरिएको प्रसंग उल्लेख गर्दै लिङ्देनले सरकारले कानुनको उल्लङ्घन गरी विपक्षीको आवाज थुन्न खोजेको आरोप लगाए ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको भन्दै उनले प्रश्न गरे, ‘३९४ सय विगाहामा पुग्ने कामलाई ८ सय विगाहा किन बनाइयो?’ उनले सरकारी कोष दुरुपयोग गर्दै योजना, एअरपोर्ट र प्लेनहरू भ्रष्टाचारका लागि बनाइएका आरोप लगाए। ;आज गणतन्त्रको नाममा लुटतन्त्र चलिरहेको छ। अब देशले बलियो धक्का मागेको छ;’ लिङ्देनले भने।
कार्यक्रममा उनले राप्रपा नेताहरूको आचरण सुधार्ने अभियान पनि सुरु गरिएको जनाए । निकट भविष्यमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले पार्टी कार्यकर्तालाई आजैदेखि सक्रिय हुन आग्रह गरे। ‘यो उपनिर्वाचन स्वर्गीय दीपक बोहराको सपना साकार पार्ने अवसर हो,’ उनले भावुक हुँदै भने ।
त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले नेपालमा निकट भविष्यमा पुनः राजसंस्था र हिन्दू राष्ट्र आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेताहरू सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य स्वाती थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, जिल्ला अध्यक्ष सागर प्रताप राणा, र जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले उपनिर्वाचनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।














