Logo
Logo

अस्ट्रेलियामा लकडाउनले रोकेन कोरोना, एकैदिन १० जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


मेलबोर्न, ११ साउन (एजेन्सी) । कोरोनाभाइरसको महामारी सुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकैदिन ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकैदिन १० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका कडा नियमहरु जारी गरेपनि कोरोना संक्रमण बढेको र मानिसको मृत्यु समेत हुन थालेको छ ।
पछिल्लो मृत्यु समेत हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा भिक्टोरिया राज्यमा ४५० जना नयाँ संक्रमित भेटिएका छन् ।
भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण सात जनाको मृत्यु भएको हो ।
अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमितको कूल संख्या करिब १४ हजार रहेको छ । तर, अस्ट्रेलियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरले सरकारमाथि दबाब बढेको छ । सरकारले मेलबर्नमा गरेको लकडाउन दोस्रो साता पुगिसकेको छ, तर संक्रमितको संख्या अझ बढेको छ ।
शहरमा मास्क अनिवार्य गरिएको छ भने भिक्टोरिया राज्यलाई अस्ट्रेलियाका अन्य शहरबाट अलग गरिएको छ अर्थात् सम्पूर्ण आवतजावत बन्द गरिएको छ । प्रहरी र सेनाले राज्यका सीमाहरुको निगरानी गरिरहेका छन् भने अन्य राज्यबाट आफ्नो घर फर्कनेहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको छ । तैपनि, आइतबार मात्र भिक्टोरियामा ४५९ नयाँ संक्रमित भेटिएका छन् । शनिबार पनि यहाँ ३५७ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्