Logo
Logo

भारत-पाकिस्तान तनाव : आतंकित मानिसहरु स्पेशल रेलमार्फत् काश्मिर छोड्दै


1.2k
Shares

काठमाडौं । दशकौँ यताको सबैभन्दा खराब लडाईंबाट मुक्त हुन भारत प्रशासित काश्मिरको जम्मुबाट मानिसहरूलाई बाहिर जान नियमित रेल सेवालाई असम्भव भएपछि त्यहाँ पुगेका विशेष रेल चढ्नका लागि शनिबार सेवाग्राहीबीच भीड लागेको थियो ।

मध्य र पूर्वी भारतका अधिकांश गरीब मजदुरहरूले रेल तथा बसमा चढ्दै गरेका यात्रुहरूबीच पेलापेल हुँदा उनीहरू आपसमा झगडा गर्दै यातायातका साधनमा चढेका तस्बीरहरू सार्वजनिक भएका छन् । उनीहरूको विवादलाई मिलाउन प्रहरीहरूले दिनभर सिट्ठी फुक्दै लाठी चार्जसमेत गर्नुपरेको थियो ।

सङ्घीय सरकारले पठाएको यो रेलले ती भाग्यमानीहरूलाई जम्मुबाट करिब ६०० किलोमिटर दक्षिणमा रहेको भारतको राजधानी नयाँ दिल्लीसम्म निःशुल्क सेवा दिएको थियो । त्यसको केही घण्टापछि दुवै देशका अधिकारीहरूले पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् ।

दुई दशकदेखि जम्मु नजिकैको अखनूरमा मिस्त्रीको काम गर्दै आएका मध्य भारतको छत्तीसगढका ४१ वर्षीय करण वर्मा युद्धको आतङ्क नभएको भए कुनै पनि हालतमा बाहिर जान चाहदैनथिए । उनले एएफपीसँग भने, ‘रातभरि ठूलो आवाजमा विष्फोट हुने गरेको छ । त्यहाँबाट जानुको विकल्प छैन ।’

कोही–कोही मानिसहरूले बच्चा र साना केटाकेटीहरूलाई उठाएर परिवारका सदस्यहरूलाई झ्यालबाट भित्र फ्याँकिदिएका देखिन्थ्यो । भीडलाई हराउन र चढ्न सफल भएकोमा उनीहरूले ठूलै युद्ध जितेको जस्तो खुशी देखिन्थे ।

मध्य प्रदेश राज्यका ४३ वर्षीय सुरेश कुमारले आफ्नो भाइलाई अर्को यात्रुसँगको झगडाबाट टाढा तान्दै भने, ‘छोडिदेउ, अझै धेरै रेलहरू हुनुपर्छ ।’ निशा देवी, उनका तीन छोराछोरी र उनका पतिले आफ्नो गृह प्रान्त सुदूर पूर्वी राज्य बिहार फर्कन रेलमा ठाउँ पाएनन् ।

‘यदि यो बच्चाहरूसँग म त्यो रेलमा चढेको भए मृत्युको पासोमा चढेजस्तै हुने थियो,’ उनले रेलमा भएको भीडको दुदर्शालाई केही घुमाउरो तरिकाले व्याख्या गर्दै भने ।

नागरिक मृत्यु

भारत प्रशासित काश्मिरमा गत महिना भएको आक्रमणमा २६ जना पर्यटकको मृत्यु भएको थियो, जसमा अधिकांश हिन्दू पुरुष थिए । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएयता मुस्लिम बहुलरहेको काश्मिरमा आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी (भार र पाकिस्तान) ले धेरै युद्ध लडेका छन् ।

काश्मिरमा हुने अशान्तिका लागि भारतले पाकिस्तानस्थित लश्कर–ए–तैयबामाथि दोषरोपण गर्ने गरेको छ । संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको लश्कर–ए–तैयबामाथिको आरोपमा इस्लामाबादले पाकिस्तानको संलग्नता अस्वीकार गर्दै आएको छ ।

यो द्वन्द्व युद्धमा परिणत हुने डरका बीच ६० जनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । विशेष रेल जम्मुबाट छुट्ने तयारीमा रहेको बेला टेकलाल पद्मानी लाला एउटा डिब्बाको प्रवेशद्वारमा बारमा टाँसिएर भने, ‘आवश्यक प¥यो भने म दिल्लीसम्म यसरी नै जानेछु ।’

प्रतिक्रिया दिनुहोस्