Logo
Logo

ओलीले प्रदीपको ७०० रुपैयाँ पारिश्रमिकमा रोक लगाएपछि…


राजेन्द्र स्थापित

20.6k
Shares

काठमाडौं । दृष्टि साप्ताहिक, छलफल जस्ता पत्रिकामा मिसन पत्रिकाका लागि नेतृत्वदायी भूमिकामा रहेर काम गरेका प्रदीप नेपालबारे त्यतिबेलाका सहकर्मी पत्रकार राजेन्द्र स्थापितले २४ बैशाखमा नेपाल प्रेसमा विगतका दिन सम्झिएका छन् । तत्कालीन पार्टी इन्चार्ज केपी शर्मा ओलीले पारिश्रमिक रोक लगाएको प्रशंगलाई उनले यसरी खुलाएका छन् ।

प्रदीप कमरेडले आफ्नो लेख त लेख्नु नै हुन्थ्यो, कहिलेकहीँ सम्पादकीय, समाचार, अरु लेख र समाचार पनि सम्पादन गरिदिनुहुन्थ्यो । त्यसैले उहाँलाई हामीले महिनाको सात सय रुपैयाँ दिन थाल्यौँ । दृष्टिका पाठकमाझ मोदनाथ आश्रितको ‘जीवनको गोरेटो’, प्रदीप नेपालको ‘मुक्त आकाशको खोजीमा’ र अग्निशिखाको ‘श्विको सेरोफेरो’ जस्ता स्तम्भ लोकप्रिय थिए ।

पत्रिका बिक्री भएर पैसा आउँथ्यो नै । त्यही पैसाले अफिस, टेलिफोन, खाना नास्तासँगै स्टाफलाई तलव पनि दिन थालियो । जसका स्तम्भले पत्रिका चलेको छ, ती लेखकलाई पनि केही न केही पैसा दिनुपर्छ भनेर अरुलाई भन्दा पनि प्रदीप कमरेडको सहयोग अलि बढी भएका कारण दियौँ भन्ने सल्लाह भएर सात सय रुपैयाँ दिन थाल्यौँ ।

त्यतिबेला पार्टीको प्रचार विभाग प्रमुख केपी ओली हुनुहुन्थ्यो । प्रदीप कमरेडलाई सात सय रुपैयाँ दिएको कुरा कसैले उहाँलाई रिपोर्ट गरेछ । एक दिन केपी ओली दृष्टिको अफिसमै आउनुभयो । भित्र नछिरी ‘राजेन्द्र तिमी यता आऊ’ भन्दै बाहिर मलाई बोलाउनुभयो । म गएँ । उहाँले सोध्नुभयो, ‘प्रदीप कमरेडलाई तपाइँहरुले पैसा दिने गरेको हो ?’ मैले हो भनेँ ।

‘कति पैसा हो ?’ उहाँले सोध्नुभयो । मैले भनेँ, ‘सात सय हो कमरेड ।’ त्यसपछि केपीले ‘अबदेखि नदिनु’ भन्नुभयो । मैलेचाहिँ पैसा दिनुपर्छ भन्नलाई कारण सुनाएँ, ‘उहाँले जे जस्तो सहयोग गर्नुभएको छ, त्यति नै काम गर्ने मान्छे बाहिरबाट राख्दा हजारौँ तलव माग्छन् । त्यसैले उहाँले लेखे जतिको थोरै पारिश्रमिक दिएको हो कमरेड, यसमा केही नगरौँ होला ।’

केपीले मान्नुभएन । ‘इन्चार्जले भनेको हो, तपाइँले कार्यान्वयन गर्ने हो लेख्ने मान्छे भएन भने भन्नु नि, मै लेखिदिउँला ।’ यति भनेर उहाँ फर्किनुभयो । प्रचार विभागको प्रमुख र दृष्टिको इन्चार्ज पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँले भनेपछि मैले प्रदीपलाई पैसा दिन मिलेन । यो कुरा प्रदीप कमरेडलाई त भन्नुपर्ने भयो । प्रदीप आएको बेला मैले केपी कमरेडले भनेको कुरा सुनाएँ । सबै कुरा सुनेपछि प्रदीपले भन्नुभयो, ‘ठीकै छ, म पैसा नलिउँला । मैले अहिलेसम्म दृष्टिलाई जेजति सहयोग गरेको छु, पार्टीले भनेको छ मान्नुपर्छ । अबदेखि नगरौँला ।’

यो फेरि अर्को अप्ठ्यारो कुरा भयो । पार्टीले नै नदिनु भनेपछि मैले दिनु मिलेन । मलाई कस्तो अप्ठ्यारो प¥यो भने प्रदीपको मुख हेरौँ कि पार्टी इन्चार्जको ? शम्भुहरुलाई सोधेँ, ‘पार्टीले भनेको त मान्नैपर्छ’ भन्ने कुरा आयो ।

यसपछि केही समय उहाँ दृष्टिमा कम आउन थाल्नुभयो । तर, दृष्टि पत्रिकाको अफिस मात्रै थिएन । प्रदीप कमरेडको सम्पर्क कार्यालय जस्तै भइसकेको थियो । बिस्तारै बिस्तारै लेख्न पनि थाल्नुभयो । केपी कमरेड प्रचार विभागबाट अरु नै जिम्मेवारीमा गएपछि झलनाथ खानल विभागको प्रमुख हुनुभयो । हामीले प्रदीप कमरेडलाई फेरि पैसा दिन थाल्यौँ । उहाँले पनि सक्रियताका साथ लेख्ने काम गरिहनुभयो ।

-२७ बैशाखको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्