काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूलाई जेठ १५ गतेको प्रस्तावित आन्दोलनको ‘बेलुन’मा हावा नभर्न चेतावनी दिएका छन् ।

किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले चैत १५ गतेको राजावादी आन्दोलन असफल भएको दाबी गर्दै त्यस्तै प्रयास दोहोर्याउन ‘खबरदार’ भने ।
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आन्दोलनको घोषणा गरेको छ । समितिको हालैको बैठकले उपत्यका बाहिरका समर्थकहरूलाई पनि सहभागी हुन आह्वान गरेको छ ।
‘सुनारको सय चोट, लोहारको एक चोट भनेजस्तै हामीले एक पटक हानेपछि चैत १५ मा राजावादीहरूको बेलुन फुटिसकेको छ,’ प्रचण्डले भने, ‘अब जेठ १५ मा फेरि अर्को बेलुन फुलाउने दुस्साहस नगर्नू, त्यो सम्भव छैन ।’
प्रचण्डले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान र अधिकारको चेतनालाई कसैले रोक्न नसक्ने बताए । उनले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनलाई ‘वितण्डा’को संज्ञा दिँदै उनीहरू हिंसा र अराजकतातर्फ उन्मुख रहेको आरोप लगाए । ‘१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि बाङ्गै हुन्छ भनेजस्तै, राजावादीहरू अहिले पनि हिंसा र गुण्डागर्दीमै छन्,’ उनले भने, ‘यो आन्दोलनले जनतालाई राजावादीहरूको वास्तविकता र गणतन्त्र तथा समाजवादको महत्त्व छर्लङ्ग भएको छ।’











