काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गर्ने बताउँदै उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभई सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गरिने बताए ।

उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए । जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै प्रधानमन्त्री ओलीले यसलाई कानुन अनुसार नियन्त्रण गरिने बताए ।
प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दै अघि बढ्ने धारणा राखे । त्यस्तै उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हर सम्भव प्रयास हुने स्पष्ट पारे ।














