काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । साथै, नेपालको मौसम प्रणालीमा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ ।

आज कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।














