काठमाडौं । भारत र पाकिस्तानबीच भएको युद्धविरामको सकारात्मक प्रभावस्वरूप भारत र पाकिस्तानका सेयर बजारमा सोमबार उल्लेखनीय वृद्धि देखिएको छ । भारतको प्रमुख सेयर बजार मापक सेन्सेक्स इन्डेक्स ३.५० प्रतिशत अर्थात् २,७८१ अङ्कले बढेर ८२,२३५ विन्दुमा पुगेको छ । जुन यो वर्षको हालसम्मकै उच्च हो । यसअघि अप्रिल १५ मा सेन्सेक्स २.१० प्रतिशत (१,५७७ अङ्क) ले बढेको थियो । यस्तै, निफ्टी५० पनि ३.६८ प्रतिशत अर्थात् ८८४ अङ्कले उकालो लागेर २४,८९५ विन्दुको उचाइमा पुगेको छ ।
सेन्सेक्सका ३० मध्ये २९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । अडाणी पोर्ट्स, बजाज फाइनान्स, एक्सिस बैंकसहित १७ कम्पनीको सेयर मूल्य ४.५ प्रतिशतसम्मले बढेको छ, जबकि सनफर्मा कम्पनीको सेयर मूल्य मात्र ५.५ प्रतिशतले घटेको छ । विश्लेषकहरूले युद्धविरामले बजारमा अनिश्चितता हटाएर लगानीकर्ताको मनोबल बढाएको बताएका छन् ।
पाकिस्तानको सेयर बजार पनि युद्धविरामको समाचार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बेलआउट प्याकेज स्वीकृतिको प्रभावले उल्लेखनीय रूपमा उकालो लागेको छ । पाकिस्तानको बेन्चमार्क इन्डेक्स केएसई १०० प्रारम्भिक कारोबारमा ९ प्रतिशतले बढेर ११५,९१२.९४ विन्दुमा पुगेको थियो । जसले गर्दा एक घण्टाको लागि कारोबार रोकिएको थियो ।
गत साता भारत–पाकिस्तान तनाव चरम सीमामा पुग्दा केएसई १०० इन्डेक्स अप्रिल २२ देखि १५,००० अङ्कले घटेर १०३,०६०।.३० मा झरेको थियो । पाहलगाम आतंकवादी हमलापछि भारतले अपरेसन सिन्दूरमार्फत पाकिस्तानमा आतंकवादी शिविरहरूमा हमला गरेपछि बजारमा आतङ्क मच्चिएको थियो ।
विश्लेषकहरूका अनुसार, युद्धविरामसँगै शुक्रबार वासिङ्टनमा भएको आईएमएफ बोर्ड बैठकमा पाकिस्तानलाई २.३ अर्ब डलरको बेलआउट प्याकेजको किस्ता दिने सहमति भएकोले बजारमा उछाल आएको हो । यसले पाकिस्तानको आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
भारतको सेयर बजारको बलियो आधार र ५ ट्रिलियन डलरको बजार पूँजीकरणले यसलाई विश्वको शीर्ष पाँच इक्विटी बजारमा राखेको छ । यसको तुलनामा, पाकिस्तानको कराची स्टक एक्सचेन्जको बजार पूँजीकरण २०.३६ अर्ब डलर मात्र छ । भारतको बजारमा ५,००० भन्दा बढी सूचीकृत कम्पनी र बलियो घरेलु लगानीको आधारले यसलाई स्थायित्व प्रदान गरेको छ । जबकि पाकिस्तानको बजारमा ५०० कम्पनी मात्र सूचीकृत छन् ।











