काठमाडौैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यामान लुटेरा निर्वाचन प्रणाली देशको हितमा नरहेको बताएका छन् ।सोमबार वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले करोडौँ खर्च गरेर पनि निर्वाचन जित्न नसकिने प्रणाली आवश्यक नभएको बताएका हुन् ।

‘करोडौँ खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन । दलित, उत्पीडित सबैले खर्च नगरी चुनाव लड्ने गरी प्रणाली चाहिएको छ । प्रतिक्रिया प्रतिगामी शक्तिहरूले संविधान संशोधनको कुरा गर्दै छन् । क्रान्तिकारी र प्रतिगामी शक्तिबिच कडा टसल हुनेवाला छ । यसमा आदिवासी, दलित, उत्पीडित, महिला सबै वर्ग समुदाय सचेत हुनुपर्ने आवश्यकता छ’, उनले भने ।
कार्यक्रममा आफ्नो नेतृत्वको सरकारले ल्याएको विशेष प्याकेज केपी ओली सरकारले कटौती गरेको भन्दै उनले सरकारको कडा आलोचना गरे ।











