Logo
Logo

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला


504
Shares

कञ्चनपुर ।  यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन् । इ–रिक्सा चलाएर उनी मासिक रु ३५ हजार बढी आम्दानी गर्छिन् ।

 घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट रु दुई लाख ऋण लिएर इ–रिक्सा खरिद गरी चलाउन थालेकी हुन् । समूहबाट लिएको ऋण महराले पाँच महिनामै चुक्ता गरेकी छन् ।  इ–रिक्सा चलाएर हुने आम्दानीले एक छोरा, एक छोरीको विद्यालयको मासिक शुःल्क, घर खर्च सबै धान्दै आएकी छन् । 

कक्षा १२ सम्म पढ्नुभएकी महराले घरको आर्थिक अवस्था कमजोर हुँदा निजी विद्यालयमा शिक्षिकाको काम पनि गरिन् । “त्यसबाट घर खर्च चलाउन धौधौ हुनथालेपछि केही महिना लघुवित्तमा र केही महिना बिमा अभिकर्ता बनेर काम गरेँ,उनले भनिनन्, “दुवै क्षेत्रबाट पाइने तलबले चित्त बुझेन ।”

झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र इ–रिक्सा चलाउँथे । “पुरुषजस्तै मैले पनि इ–रिक्सा चलाउने निधो गरेँ ।  समूहमा पैसा बचत गर्दथेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ”,उनले भनिनन्, “ई–रिक्सा खरिद गरेर चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काटथे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसाला दिन्थे ।”

दुई तीन महिना थोरै यात्रु चढे । त्यतिबेला निकै तनाव भयो उहाँलाई । यात्रुलाई सुरक्षित रूपमा तोकिएको रकम र गन्तव्यमा पु९याउन थालेपछि यात्रुको सङ्ख्या बिस्तारै बढ्न थालेको उनले बताइन् । अहिले महिला पुरुष सबै जना चढ्ने गरेको उनी बताउँछिन् ।

यात्रु कम भएका बेला दिनमा रु एक हजार जति र बढी भएका बेला रु दुई हजार ५०० सम्म कमाइ हुने गरेको उनले बताइन् । उनका श्रीमान्ले पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थालेका छन् । दुवै जनाले कमाई गर्न थालेपछि परिवारको खर्च धान्न सहज भएको छ ।
 
धनमतीजस्तै शुक्लाफाँटा नगरपालिका–११ दीपनगरकी २८ वर्षीय अनिता कुवँरले पनि दुई वर्ष देखि ई–रिक्सा चलाउदै आएकी छन् । कक्षा १२ सम्म अध्ययन गर्नुभएकी कुवँरको आर्थिक अवस्था कमजोर थियो । साँझ बिहानको छाक टार्न धौ धौ हुने गरेको थियो । श्रीमान्ले ढुवानीका साधन चलाउँथे । त्यसबाट घर खर्च चलाउन सक्ने अवस्था थिएन । 

“घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ”, उनले भनिनन्, “रु दुई लाख ऋण लिएर, त्यसैबाट ई–रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ ।” इ–रिक्सा चलाउन थालेपछि सामान्य खर्चको अभाव नभएको उनले बताइन् । 

“ई–रिक्सा चलाउन थालेपछि पैसाका लागि श्रीमानको भर पर्नु परेको छैन”, उनले भनिनन्, “कमाई गरेर आएको रकम श्रीमान्लाई उल्टै खर्च दिने गरेको छु ।”

सहकारीमा दैनिक रकम बचत गर्न थालेकाले त्यस रकमबाट घर निर्माण गर्ने उनको योजना छ । उनले मासिक रु ३० हजारदेखि रु ३५ हजार कमाई गर्दै आएकी छन् । यी दुवै महिलालाई देखेर झलारी बजारमा अन्य महिला पनि ई–रिक्सा खरिद गरी चलाउन थालेका छन् । 

पछिल्लो एक वर्षमा ई–रिक्सा प्रति महिलाको आकर्षण बढेको झलारी बजारका व्यवसायी ललितबहादुर हमालले बताए । झलारी बजारमा मात्रै छ जना बढी महिला ई–रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्