डारफरमा जारी हिंसामा ६० जनाले ज्यान गुमाए


Published On : 27 July, 2020

खार्तोम, १२ साउन (एजेन्सी) । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएको हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ । उक्त हिंसामा परी अन्य ६० जनाभन्दा घाइते भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जानकारी दिएका छन् ।
पश्चिमी डारफरको मास्तेरी भन्ने गाउँमा करिब ५०० को संख्यामा आएका सशस्त्र हतियारधारीहरुले आक्रमण गरेका थिए । सो हिंसामा परी कम्तीमा पनि ६० जनाको ज्यान गएको छ भने अरु ६० जना नराम्ररी घाइते भएका छन् । उक्त क्षेत्रमा शनिबार अपराह्न सो हिंसा भएको राष्ट्रसंघीय सुरक्षा अधिकारीका साथै अधिकारवादी संस्थाहरुले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उक्त क्षेत्रमा विगत लामो समयदेखि हिंसा भइरहेको भन्दै यसलाई पछिल्लो समयमा भएको एक ठूलो हिंसाका रुपमा लिइएको छ ।
उक्त मस्तेरी गाउँमा घरहरु भत्काइएका र जलाइएका छन् भने अरु पनि कैयाँै पूर्वाधारहरु नष्ट भएका पनि बताइएको छ ।पश्चिम डारफरको सरकारी समाचार समिति सुनाले सो समाचार दिएको छ । सुनाले उक्त गाउँका विभिन्न जातीय समूहबीच सो हिंसा भएको बताएको छ ।

विभिन्न जातीय समूहरुका आ–आफ्ना सशस्त्र विद्रोही समूहहरु रहेका र उनीहरु एक आपसमा भिडन्त पनि गरेका सो समाचार समितिको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि हिंसा भएको सो क्षेत्रमा गएको जुलाई १३ मा सुरक्षा संकटकालको घोषणा गरिएको थियो । तर त्यस यता पनि हिंसा भने रोकिएको छैन ।
सुडानी प्रधानमन्त्री अब्दुल्लाह हामदकले उक्त क्षेत्रका नागरिकको जीवन रक्षाका लागि सेना पठाउने जानकारी दिनुभयो । उहाँले हाल त्यहाँ खेतीबालीको मौसम रहेकाले यस समयमा हुनसक्ने हिंसा रोक्नका लागि पनि त्यस क्षेत्रमा आवश्यक परेको संख्यामा हामी सुरक्षाकर्मीहरु पठाउने तयारी गरेको बताए ।
पश्चिमी सुडानी क्षेत्र डारफरमा गएको सन् २००३ देखि ठूलो हिंसा मच्चाइएको छ । त्यहाँ जातीय विद्रोही र सुरक्षा अधिकारीहरुका बीचमा त्यस यता देखि नै हिंसा जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्