Logo
Logo

वर्ष दिनमा प्रतितोला साढे ३२ हजारले बढ्यो सुन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ साउन । पछिल्लो एक वर्षमा नेपाली बजारमा सुनमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ ।
गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो ।
यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला रु ४३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेको छ ।
महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।
मनि मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्