
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रि–बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ ।
संसद सचिवालयका अनुसार आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुने भएको हो ।
चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुने समयतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ । जसमा सत्ता पक्षका नेपाली कांग्रेस र नेकपा एमालेले ५/५ घण्टा समय पाएका छन् ।
माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् ।एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीले ५ मिनेट, राष्ट्रिय जनमोर्चाले ५ मिनेट, आम जनता पार्टीले ५ मिनेट र दुई जना स्वतन्त्र सांसदले ५/५ मिनेट पाएका छन् । हाल सरकारलाई समर्थन गर्ने दलको संख्या ७ छ । यी दलले पाएको जम्मा समय ७६० मिनेट छ । यो १२ घण्टा केही बढी समय हो । जम्मा समय १०८३ मिनेट छुट्याइएको छ । बाँकी ३२३ मिनेट समयमा प्रतिपक्षमा रहेका दलहरुले छलफल गर्न पाउनेछन् ।















