काठमाडौं । थाइल्यान्डको टेर्डथाई क्रिकेट ग्राउन्डमा मङ्गलवार सम्पन्न आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । यो हारसँगै समूह ‘सी’ मा रहेको नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाएर २९ रन बनायो । नेपालकी सम्झना खड्काले सर्वाधिक १० रन (७ बल, १ चौका) जोडिन् भने कप्तान इन्दु बर्मा ९ रनमा अविजित रहिन् । रुविना क्षेत्री बेलबासेले ४ रन बनाइन् । पूजा महतो (३ रन) र कविता कुँवर (२ रन) सस्तैमा आउट भए । हङकङकी मेई बाई सियुले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् ।
३० रनको लक्ष्य पछ्याएको हङकङले ४,३ ओभरमा ३ विकेट गुमाएर सहजै जित हासिल गर्यो । हङकङकी शान्जिन शहजादले अविजित १५ रन (१२ बल, १ छक्का) बनाइन् भने मारिको हिल ११ रनमा आउट भइन् । नेपालकी कविता कुँवरले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन्, तर हङकङको जित रोक्न सकिनन् ।
यो जितसँगै हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट ४ अङ्क जोडेको हङकङको नेट रनरेट बलियो छ । नेपालको भने समान खेलबाट ३ अङ्क छ। समूहको शीर्ष टोली सुपर थ्रीमा पुग्नेछ, जहाँबाट शीर्ष दुई टोली ग्लोबल छनोटमा छानिनेछन् ।
नेपालकी कप्तान इन्दु बर्माले हारपछि भनिन्, ‘वर्षाले खेल छोट्याए पनि हामीले ब्याटिङमा राम्रो गर्न सकिनौ । अब बाँकी खेलमा जित निकाल्नुपर्छ ।’ नेपालले अब बहराइनविरुद्ध अन्तिम खेल खेल्नेछ, जहाँ जित अनिवार्य छ ।











