काठमाडौं । जिल्ला हुलाक कार्यालय, बाराका कार्यालय प्रमुख नायब सुब्बा बलीराम प्रसाद कुर्मीसहित पाँच तत्कालीन कर्मचारीविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २८९ रुपैयाँ ३३ पैसा हिनामिनाको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले कुर्मीले २०६० देखि हुलाक बचत बैङ्कको जिम्मेवारी सम्हाल्दा बचतकर्ताको रकम नगदी रजिस्टरमा प्रविष्ट नगरी, लेजर बुक र पासबुकमा मात्र विवरण राखेर दुरुपयोग गरेको पाइएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दायर आरोप पत्रमा कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी बचत रकम आपसी बाँडफाँड गरेको उल्लेख छ ।
अन्य आरोपितमा तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह छन् । उनीहरूले लेखाजोखा नगरी, केन्द्रीय कार्यालयमा विवरण नपठाई र रकम दाखिला भएको छानबिन नगरी अपचलन गरेको आरोप छ । विशेष अदालतमा बिगोबमोजिम कैद र जरिवानाको माग गरिएको छ ।














