काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (साउन–चैत) मा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५४.४ प्रतिशतले घटेको छ । १४ निर्जीवन बीमा कम्पनीहरूले ९ महिनामा जम्मा २ अर्ब ४१ करोड ३ लाख ४६ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूको नाफा ५ अर्ब २९ करोड २० लाख ७३ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा सानिमा जिआईसी (१६.२१५प्रतिशतले वृद्धि, २३ करोड ३५ लाख) र शिखर इन्स्योरेन्स (१.७९प्रतिशतले वृद्धि, ३५ करोड ७० लाख) को मात्र नाफा बढेको छ । बाँकी १० कम्पनीको नाफा घटेको छ भने ओरियन्टल (१३ करोड ८३ लाख) र नेशनल इन्स्योरेन्स (७२ करोड ८१ लाख) ऋणात्मक अवस्थामा छन् ।
सर्वाधिक नाफा कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पहिलो स्थानमा छ, जसले ४५ करोड ३६ लाख कमायो, तर यो गत वर्षको तुलनामा २४.०३प्रतिशतले कम हो। राष्ट्रिय बीमा (३ ३ करोड ५६ लाख), नेको इन्स्योरेन्स (३६ करोड ९३ लाख_, हिमालयन एभरेष्ट (३३ करोड २३ लाख), आइजिआई प्रुडेन्सियल (२६ करोड ५१ लाख), र सगरमाथा लुम्बिनी (२५ करोड १९ लाख) को नाफा पनि उल्लेख्य घटेको छ ।
प्रभु इन्स्योरेन्स (२० करोड २ लाख), नेपाल इन्स्योरेन्स (१७ करोड ८४ लाख), र युनाइटेड इन्स्योरेन्स (११ करोड ६१ लाख) को नाफा पनि क्रमशः ४८प्रतिशत, ३९ प्रतिशत, र ५७ प्रतिशतले घटेको छ । बजार चुनौती र बीमा दाबीको वृद्धिका कारण नाफामा ह्रास आएको विश्लेषण गरिएको छ ।











