काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैङ्कको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी गराएका हुन् ।

गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि बनेको एमाले र कांग्रेस सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबी गरे । उनले वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरुद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारे ।
उनले नेपाली जनताको ठुलो सङ्घर्ष, त्याग एवं बलिदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरङ्कुश व्यवस्था व्यवस्था हुन नसक्ने बताए।