काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसका सिट नबढाउन सरकारसँग माग गरेका छन् । मंगलबार जारी विज्ञप्तिमा उनले हालको सिट सङ्ख्या बढाएमा पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले रेजिडेन्ट डाक्टरहरूको श्रम शोषणको समस्या समाधान गर्न, विगतका सम्झौताहरू कार्यान्वयन गर्न र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन तत्काल लागू गर्न जोड दिएका छन् ।
चिकित्सा शिक्षा आयोगले सिट सङ्ख्या बढाउन समिति गठन गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले सरकारले आयोगको अधिकार खोस्ने र शुल्क बढाउने कार्य नगर्न आग्रह गरेका छन् । साथै, कैलालीको गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएको, इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज निर्माण सुरु नभएकोप्रति पनि उनले आपत्ति जनाएका छन् । सरकारले माग पूरा नगरे सत्याग्रहसहित आन्दोलन गर्ने उनको चेतावनी छ ।