काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको बताइएको छ ।
मखन टोलस्थित दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो । आगलागी थाहा भएको पाएर अरु भागेपनि चौथो तलामा बस्दै आएकी ८० वर्षीया वृद्धा भने घरबाहिर निस्कन सकिनन् ।

आगो निभाउने क्रममा काभ्रे घर भएकी ८० वर्षीया विष्णु अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका अनुसार ती बृद्धा नाङ्लोमा सामान राखेर बेच्ने काम गर्दै आएको खुलेको छ । मृतक बृद्धको गत चैतमा मात्र श्रीमान गुमाएका थिए । उनीहरुको परिवारमा कति जना थिए भन्ने चाहिँ खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दाहालको घरमा लागेको आगो करिब तीन घन्टामा नियन्त्रणमा लिइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको मद्दतका साथै ६ वटा दमकल प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सो आगलागी छिमेकी रूकेश श्रेष्ठको पाँच तले घरमा समेत सल्किएको थियो । आगलागीबाट कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।